को हुन् पूर्वमन्त्री साउँदको क्षेत्रमा निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भएका १८ वर्षीय युवा ? गर्दैछन् केन्द्रिय महाधिवेशन प्रतिनिधिको तयारी

महेन्द्रनगर । नेपाली कांग्रेसका पूर्वमन्त्री एनपी साउदको प्रभाव क्षेत्र मानिने कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा देउवा समूहले १८ वर्षीय युवालाई क्षेत्रिय प्रतिनिधि चयन गरेको छ । १५ औँ महाधिवेशन अन्तर्गत विहिबार सम्पन्न वडा अधिवेशनले बेदकोट नगरपालिका–७ का १८ वर्षीय मनिष भट्ट क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै कम उमेरमै पार्टीको संगठनात्मक राजनीतिमा उनले आफ्नो उपस्थिति बलियो बनाएका छन् ।
राजनीतिलाई पद प्राप्त गर्ने माध्यमभन्दा पनि समाज र राष्ट्रप्रतिको जिम्मेवारीका रूपमा बुझ्ने भट्टको राजनीतिक यात्रा भने अहिलेबाट सुरु भएको होइन । करिब ७ वर्षको उमेरदेखि नै टोल तथा समाजमा हुने सामाजिक र धार्मिक कार्यक्रममा सहभागी हुँदै आएका उनी ८ वर्षकै उमेरमा आफ्नै टोलको बाल क्लबमा आबद्ध भएका थिए । त्यसयता सामाजिक, धार्मिक तथा स्वयंसेवी गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका भट्टले अहिले पार्टीको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी पाएका हुन् ।
बाल्यकालदेखि नै राजनीतिप्रति चासो राख्ने मनिष विभिन्न राजनीतिक दलका सभा तथा सम्मेलनमा सहभागी हुँदै अग्रज नेताहरूका विचार सुन्ने गर्थे । तर, हरेक कार्यक्रमबाट फर्किएपछि उनको मनमा एउटै प्रश्न उठ्थ्यो, ‘आखिर राजनीति कसका लागि हो र राजनीति किन गर्ने ?’ त्यही प्रश्नको उत्तर खोज्ने क्रममा उनले देश–विदेशका राजनीतिक घटनाक्रम, भू–राजनीति र राजनीतिक सिद्धान्तबारे अध्ययन गर्न थाले । किताब पढ्ने बानीसँगै राजनीतिलाई बुझ्ने र त्यसको सामाजिक प्रभावबारे विश्लेषण गर्ने प्रयासले उनको राजनीतिक चेतनालाई थप परिपक्व बनाउँदै लग्यो ।
‘ म राजनीतिमा आज आएर लागेको होइन । सानैदेखि समाज र सामाजिक कामप्रति मेरो रुचि थियो ।’ उनले भने ‘करिब ७ वर्षको उमेरदेखि नै घरमा नसोधी टोल–समाजमा हुने सामाजिक तथा धार्मिक कार्यक्रममा जाने, मानिसहरूसँग घुलमिल हुने र समाजमै रमाउने बानी थियो । ८ वर्षको हुँदा आफ्नै टोलको बाल क्लबमा सक्रिय भए । त्यसपछि सामाजिक, धार्मिक तथा विभिन्न स्वयंसेवी लगाएतका सामाजिक कार्यमा निरन्तर जोडिदै आएको छु ।’ उनकाअनुसार राजनीतिक अध्ययनसँगै विद्यालय तहमा पनि उनी उत्तिकै सक्रिय रहे । श्री महेन्द्रनगर माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा बाल रेडक्रस परिवारको पहिलो विद्यार्थी निर्वाचनमा सहभागी भएका भट्ट सर्वाधिक मतसहित निर्वाचित भएका थिए । विद्यालयमा विद्यार्थीका आवाज उठाउनेदेखि साथीहरूसँग मिलेर कञ्चनपुरका विभिन्न सामाजिक तथा सार्वजनिक विषयमा बोल्ने र काम गर्ने अवसरले उनको नेतृत्व क्षमतालाई थप निखार्ने काम ग¥यो ।
बाल्यकालदेखि कांग्रेससँगको सम्बन्ध
मनिष औपचारिक रूपमा राजनीतिमा प्रवेश गर्ने उमेर नहुँदैदेखि नेपाली कांग्रेससँग नजिक थिए । आफूलाई नेपाली कांग्रेसको कार्यकर्ता बताउने उनी बाल कांग्रेसका रूपमा गाउँघरमै कांग्रेसको विचार र सिद्धान्तसँग परिचित भएका थिए । विभिन्न समयमा बूथ कार्यकर्ताका रूपमा समेत काम गरेको, पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको उनले बताए । उनकाअनुसार पछिल्लो समय नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै युवाहरूको आकर्षण नयाँ दलतर्फ बढिरहेको अवस्थामा आफुलाई पनि नयाँ पार्टीमा आबद्ध हुन विभिन्न व्यक्तिहरूले सुझाव दिएका थिए ।
तर, राजनीतिक दल परिवर्तन गर्नुलाई मात्र राजनीतिक परिवर्तनका रूपमा नहेरी राजनीति विचार, सिद्धान्त र विश्वाससँग जोडिएको विषय हो । ‘मेरो लागि राजनीति नयाँ र पुरानो पार्टीको विषय मात्र होइन । राजनीति विचार, सिद्धान्त र विश्वासको विषय हो ।’ उनले भने ‘मैले विश्वास गरेको विचार र मूल्यलाई छोडेर केवल नयाँ देखिएको बाटो रोज्ने मेरो स्वभाव छैन ।’ यद्यपि, पार्टीप्रतिको आस्था र निष्ठा हुनुको अर्थ पार्टी नेतृत्वका हरेक निर्णयलाई समर्थन गर्नु नहुने समेत उनले बताए ।
‘प्रश्न गर्नु मेरो धर्म हो र जनताको आवाज उठाउनु मेरो कर्म हो । आफ्नै मान्छेलाई पनि प्रश्न गर्न सकिएन भने राजनीतिमा सुधार कसरी आउँछ ?,’ उनले प्रश्न गर्दै भने ‘मलाई गलत लागेको कुरा आफ्नै पार्टीभित्र होस् वा बाहिर, गलत हो भने गलत भन्नुपर्छ ।’
बीपीको विचार, गणेशमानको देशभक्ति र सन्त नेता भट्टराईको सादगी पछ्याउने चाहना
नेपाली कांग्रेसलाई विचार, सिद्धान्त र लोकतान्त्रिक मूल्यमा आधारित संगठनका रूपमा विकास गर्नुपर्ने धारणा राख्ने मनिष पार्टीभित्र सबै विचारको सम्मान हुने संस्कार स्थापित गर्न चाहन्छन् । उनी नेपाली कांग्रेसलाई संस्थापक नेता बीपी कोइरालाको विचार, गणेशमान सिंहको निःस्वार्थ देशभक्ति र सन्त नेता कृष्णप्रसाद भट्टराईको सादगी तथा लोकतान्त्रिक संस्कारसँग जोडेर अघि बढाउनुपर्ने बताउँछन् ।
‘म फेरि बीपीको कांग्रेस बनाउन चाहन्छु, जहाँ सबै विचारको सम्मान होस् । गणेशमानको कांग्रेस बनाउन चाहन्छु, जहाँ निःस्वार्थ देशभक्ति होस् र पदभन्दा माथि देश होस् । सन्त नेता कृष्णप्रसाद भट्टराईको कांग्रेस बनाउन चाहन्छु, जहाँ सादगी र लोकतान्त्रिक संस्कार होस्,’ उनले भने । अग्रज नेताहरूको योगदान र संघर्षलाई सम्मान गर्दै आजको पुस्ताले समयअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने उनले बताए । उनकाअनुसार इतिहास र अग्रजहरूको योगदानलाई अस्वीकार गरेर वा आफू मात्रै सही भएको दाबी गरेर राजनीतिक संगठन बलियो बन्न सक्दैन । बरु अग्रजहरूको अनुभव र नयाँ पुस्ताको सोचबीच समन्वय गर्दै युवालाई पार्टीको निर्णय प्रक्रियामा अर्थपूर्ण रूपमा सहभागी गराउन आजको आवश्यकता हो ।
सामाजिक सेवाबाट राजनीतिक नेतृत्वतर्फ
हाल काठमाडौंस्थित त्रिचन्द्र बहुमुखी क्याम्पसमा राजनीतिशास्त्र अध्ययन गरिरहेका भट्ट काठमाडौंमा रहेर पनि सुदूरपश्चिमसँगको सम्बन्धलाई निरन्तरता दिँदै सामाजिक कार्यमा सक्रिय छन् । गौरा पर्वलगायतका सांस्कृतिक कार्यक्रममा युवा स्वयंसेवक परिचालनदेखि विपद्का बेला राहत तथा उद्धार कार्यमा समेत उनले सहभागिता जनाउँदै आएका छन् । भोटेकोशी–रसुवा क्षेत्रमा विपद्का बेला करिब १८ दिन स्वयंसेवक साथीहरूसँगै राहत तथा उद्धार कार्यमा खटिएका भट्टले राहत सामग्री व्यवस्थापनदेखि नेपाली सेनासँगको सहकार्यमा उद्धार कार्यमा समेत सहभागी हुने अवसर पाएको बताए ।
त्यसैगरी, उनी लियो क्लब अफ काठमाडौं रेसुङ्गामा संयोजकका रूपमा सामाजिक गतिविधिमा संलग्न छन् । युथ कांग्रेस कञ्चनपुरको संयोजकका रूपमा समेत काम गरिरहेका भट्ट ‘छात्र शक्ति नेपाल’ मार्फत देशका ७७ वटै जिल्लाका युवालाई नेतृत्व गर्दै स्वयंसेवी गतिविधिमा जोडिदै आएका छन् । सामाजिक सेवाका यी गतिविधिलाई आफूले ठूलो उपलब्धिका रूपमा नभई समाजप्रतिको जिम्मेवारी निर्वाह गर्ने अवसरका रूपमा लिने गरेको उनी बताउँछन् । उनकाअनुसार आफूले अहिलेसम्म गरेको कामभन्दा गर्न बाँकी काम धेरै छन् र समाजसँग जोडिएर निरन्तर सिक्दै अघि बढ्नु नै आफ्नो मुख्य उद्देश्य हो ।
युवालाई केवल कार्यकर्ता होइन, निर्णय तहमा पु¥याउनुपर्ने धारणा
१८ वर्षकै उमेरमा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका भट्टले यसलाई पदभन्दा बढी जिम्मेवारीका रूपमा लिएका छन् । अब आफ्नो पुस्ताले आफूले बुझेका विचार, मूल्य र मान्यतालाई टोल तथा वडादेखि पार्टीको केन्द्रीय तहसम्म पु¥याउनुपर्ने उनको धारणा छ । राजनीतिमा युवाको सहभागिता बढाउन अग्रजहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
युवालाई चुनावका बेला मात्रै परिचालन गरिने कार्यकर्ताका रूपमा सीमित नगरी पार्टीका नीति निर्माण र निर्णय प्रक्रियामा समेत सहभागी गराउनुपर्नेमा उनले जोड दिए । ‘युवालाई राजनीतिबाट टाढा राखेर राजनीति परिवर्तन हुँदैन । युवालाई केवल चुनावका बेला चाहिने कार्यकर्ता होइन, निर्णय प्रक्रियामा पनि अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्छ ।’ उनले भने ‘अग्रजले मार्गदर्शन गर्ने र युवाले नयाँ सोच, प्रविधि तथा समयको आवश्यकता लिएर अघि बढ्ने वातावरण बन्नुपर्छ ।’ आफू क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएपछि अब युवातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि तयारी गरिरहेका मनिष पार्टीभित्र युवाको नेतृत्व स्थापित गर्न र संगठनलाई थप सशक्त बनाउन सक्रिय रहने योजनामा छन् ।
युवालाई राजनीतिबाट भाग्न होइन, बुझेर आउन आग्रह
युवाहरूलाई राजनीतिप्रति वितृष्णा राखेर टाढिनुभन्दा राजनीतिलाई अध्ययन गरेर, प्रश्न गरेर र आफ्नै विचार निर्माण गरेर अघि बढ्न मनिषले आग्रह गरेका छन् । उनकाअनुसार राजनीतिमा अन्धसमर्थनभन्दा आलोचनात्मक चेत, वैचारिक स्पष्टता र राष्ट्रप्रतिको जिम्मेवारी आवश्यक छ ।
‘राजनीतिबाट भागेर होइन, राजनीतिलाई बुझेर राजनीतिमा आउनुस् । पढ्नुस्, प्रश्न गर्नुस्, बहस गर्नुस् र आफ्नो विचार बनाउनुस् । कसैको अन्धसमर्थक नबन्नुस् ।’ युवाहरुलाई संदेश दिदैँ उनले भने ‘आफ्नो मान्छे हो भन्दैमा गलतलाई सही भन्नु हुँदैन । राजनीति पद प्राप्त गर्ने माध्यमभन्दा पनि समाज र राष्ट्रप्रतिको जिम्मेवारी हो भन्ने बुझेर राजनीतिमा आउनुपर्छ ।’ १८ वर्षकै उमेरमा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भट्टका लागि यो यात्रा कुनै पद प्राप्तिमा मात्र सीमित छैन । बाल्यकालदेखि समाजमा देखेका समस्या, राजनीतिप्रति उठेका प्रश्न र सामाजिक सेवामा जोडिँदै सिकेका अनुभवलाई राजनीतिक जिम्मेवारीमार्फत अघि बढाउने उनको प्रयास हो ।
अब केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्ने तयारीमा रहेका मनिष आफ्नो पुस्ताको विचार, ऊर्जा र आवाजलाई पार्टीको तल्लो तहदेखि केन्द्रसम्म पु¥याउन चाहन्छन् । अग्रजहरूको अनुभवलाई सम्मान गर्दै युवाको नेतृत्व विकास, लोकतान्त्रिक संस्कारको प्रवद्र्धन र समाजसेवालाई राजनीतिको केन्द्रमा राख्ने उनको लक्ष्यले आगामी राजनीतिक यात्रालाई कसरी अघि बढाउँछ, त्यो भने समयले देखाउनेछ ।
महाधिवेशनमा युवाको सहभागिताबारेको प्रश्नको जवाफमा नेपाली कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीले १५ औँ महाधिवेशनबाट आगामी नेतृत्वमा युवाको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अग्रजको अनुभव र युवाको सक्रियतालाई समेटेर समिति गठन गर्नुपर्नेमा जोड दिए । ‘अग्रजको अनुभव र युवाको सक्रियताको समिश्रणबाट पार्टीको नेतृत्व निर्माण गर्नुपर्छ,’ उनले भने ।
सम्बन्धित समाचार
राजनीतिकांग्रेस भीमदत्तको नगर अधिवेशन सुरु, पूर्वमन्त्री साउदले भने–अदालतबाट पार्टीको आधिकारिकता पाउनेमा विश्वस्त छौँ
६ अक्टोबर २०२६
राजनीतिपिछडिए क्षेत्रतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खड्काको उम्मेदवारी घोषणा
६ अक्टोबर २०२६
राजनीतिमहामन्त्री खड्काको गृह पालिकाका सातै वडाको अधिवेशन सम्पन्न, को–को भए सभापती ?
५ अक्टोबर २०२६
राजनीतिबिदाको दिन पनि सेवामा भीमदत्त–२, घरमै पुगेर भत्ता नवीकरण
३ अक्टोबर २०२६