लिपुलेक खबरलिपुलेक खबरसीमादेखि समाजसम्म
🔴 ब्रेकिङ

बेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा

राजनीति

कांग्रेस भीमदत्तको नगर अधिवेशन सुरु, पूर्वमन्त्री साउदले भने–अदालतबाट पार्टीको आधिकारिकता पाउनेमा विश्वस्त छौँ

लिपुलेक खबरलिपुलेक खबर
•६ अक्टोबर २०२६
कांग्रेस भीमदत्तको नगर अधिवेशन सुरु, पूर्वमन्त्री साउदले भने–अदालतबाट पार्टीको आधिकारिकता पाउनेमा विश्वस्त छौँ

महेन्द्रनगर । नेपाली कांग्रेस भीमदत्त नगरपालिकाको नगर अधिवेशन सुरु भएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा समूहले आह्वान गरेको नगर अधिवेशन मंगलबार देशभर सुरु भएको हो । भीमदत्त नगरपालिकाको नगर अधिवेशनको उद्घाटन पूर्वमन्त्री एवं कांग्रेस नेता एनपी साउदले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नेता साउदले आफूहरूले विशेष महाधिवेशन नगरी नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखे पनि केही साथीहरूले जबरजस्ती विशेष महाधिवेशन गरेको बताए ।

उनले अदालतबाट आफूहरूलाई न्याय मिल्ने र आधिकारिकता कायम हुनेमा विश्वस्त रहेको बताए । ‘हामीले विशेषभन्दा पनि नियमित महाधिवेशनको समय भइसकेकाले नियमित महाधिवेशन नै गरौँ भनेका थियौँ । तर, जबरजस्ती केही साथीहरूले विशेष महाधिवेशन गर्नुभयो,’ उनले भने, ‘अदालतप्रति पूर्ण विश्वस्त छौँ । न्याय हाम्रो पक्षमा आउँछ ।’

साउदले सर्वोच्च अदालतले आफ्नै निर्णय पुनरावलोकन गर्ने निर्णय गर्नु पनि न्याय प्राप्त गर्ने प्रक्रियाकै एउटा हिस्सा भएको बताए । सामान्यतया पुनरावलोकनको निर्णय नहुने उल्लेख गर्दै उनले सर्वोच्च अदालतले आफ्नै निर्णयमा केही कमी–कमजोरी देखिएको हुनसक्ने भन्दै पुनरावलोकन गर्नुपर्ने निर्णय गरेको बताए ।

‘अदालतले न्याय दिन्छ । पुनरावलोकनको निर्णय पनि न्याय दिने प्रक्रियाकै रूपमा भएको हो,’ उनले भने, ‘छिट्टै पुनरावलोकन भइसकेपछि हामी नै आधिकारिक पार्टीका रूपमा कायम हुन्छौँ भन्नेमा विश्वस्त छौँ ।’

नगर उपसभापति दीपेन्द्र विष्टको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्वमन्त्री साउद, जिल्ला सभापति पदम बोगटीलगायत कांग्रेसका नेता, क्षेत्रीय प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो । नगर अधिवेशनको अहिले बन्दसत्र चलिरहेको नगर सचिव राहुल भट्टले जानकारी दिए ।

सेयर गर्नुहोस्:
इन-कन्टेन्ट विज्ञापन (Ad Space)

सम्बन्धित समाचार