महेन्द्रनगर । जनप्रतिनिधि हुनुको अर्थ पदमा सीमित हुनु मात्र होइन, जनताको दुःख–सुखमा साथ दिनु पनि हो । भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसिफ कुँवर (भुन्टु) यही मान्यतालाई आत्मसात् गर्दै गरिब, असहाय, ज्येष्ठ नागरिक र विपन्न परिवारका सहारा बन्दै आएका छन् ।
वडाध्यक्ष कुँवरले आइतबार बडादसैँको पहिलो दिन आफ्नो एक वर्षको तलबभत्ताबापतको रकम ७० वर्षमाथिका ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिलगायत १ सय ६५ जनालाई वितरण गरे ।
आफ्नो तलबभत्ता सामाजिक सेवामा खर्च गर्दै आएका उनले यस्तो अभियान विगत १० वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएका छन् । उनको सामाजिक सेवा आर्थिक सहयोग वितरणमा मात्रै सीमित छैन । उनले विपन्न परिवारका घर निर्माण तथा मर्मत, बिरामीको उपचार, खाद्यान्न सहयोग र परिवारविहीन व्यक्तिको उद्धारमा समेत निरन्तर सहयोग गर्दै आएका छन् ।
आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकाको पढाइको व्यवस्था मिलाउन पनि उनले पहल गर्दै आएका छन् । जनप्रतिनिधिको जिम्मेवारी निर्वाहसँगै व्यक्तिगत पहलमा समेत सामाजिक सेवामा सक्रिय कुँवर स्थानीयस्तरमा दुःखमा साथ दिने व्यक्तिका रूपमा परिचित छन् ।
कसैलाई आर्थिक समस्या परे, उपचार गर्न कठिनाइ भए वा घरपरिवारमा अप्ठ्यारो आइपरे सहयोगका लागि सम्झिने नाम बनेको छ—‘भुन्टु’ ।
आफ्नो तलबभत्ताबाट ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको मुहारमा खुसी भर्नेदेखि विपन्न परिवारको दुःखमा साथ दिनेसम्मका कामले कुँवरको एक दशक लामो सामाजिक सेवा निरन्तर अघि बढिरहेको छ ।