झोलुङ्गे पुल भत्किएपछि सम्झिए पूर्वमन्त्री लेखकले दोधारा–चाँदनी जोडेको त्यो इतिहास

महेन्द्रनगर । महाकाली नदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल भत्किएपछि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले त्यससँग जोडिएको पुरानो इतिहास स्मरण गर्दै दुःख व्यक्त गरेका छन् ।
देशका अन्य भूभागसँग प्रत्यक्ष यातायात सम्पर्क नभएको र लामो समय भारतको बाटोमा निर्भर रहनुपर्ने अवस्थाको दोधारा–चाँदनीलाई तत्कालीन अवस्थामा नेपालको मूल भूभागसँग जोड्ने महत्वपूर्ण माध्यमका रूपमा लेखकले उक्त झोलुङ्गे पुललाई स्मरण गरेका छन्
लेखकका अनुसार उनी २०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक प्रतिनिधिसभामा निर्वाचित भएपछि नै महाकाली नदीमा झोलुङ्गे पुल निर्माण गरी दोधारा–चाँदनीलाई नेपालका अन्य भूभागसँग जोड्नुपर्ने विषय उठाएका थिए । त्यतिबेला कतिपयले महाकालीमा लामो झोलुङ्गे पुल बनाउने कुरा असम्भव भन्दै आफूलाई ठट्टा गर्ने गरेको उनले स्मरण गरेका छन् ।
तर केही समयमै पुल निर्माणको काम अघि बढेको र नेपाल सरकारको बजेट, नेपाली प्राविधिक तथा नेपाली निर्माण व्यवसायीको संलग्नतामा महाकालीमा ऐतिहासिक लामो झोलुङ्गे पुल निर्माण भएको लेखकले बताएका छन् ।
‘महाकाली नदीको झोलुङ्गे पुल टुटेको घटनाले मलाई अत्यन्त दुःख लागेको छ,’ लेखकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको अन्य भूभागसँग यातायात सम्पर्क नभएको, जनजीवन ज्यादै कठिन भएको दोधारा–चाँदनीलाई तत्कालीन अवस्थामा प्रत्यक्ष देशको भूभागसँग जोडेको यो पुल दोधारा–चाँदनी वा कञ्चनपुर मात्र होइन, देशकै ऐतिहासिक हो ।’
महाकालीमा झोलुङ्गे पुल बनेपछि दोधारा–चाँदनीवासीका लागि सदरमुकाम महेन्द्रनगरसँगको आवागमन सहज बनेको थियो । त्यसअघि सदरमुकाम आउजाउका लागि समेत भारतको शारदा ब्यारेजको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो ।
दोधारा–चाँदनी नगरपालिका–६ का ८३ वर्षीय दलजित पुनले झोलुङ्गे पुल निर्माणपछि आफूहरूले पहिलोपटक ‘नेपाली भएको अनुभूति’ गरेको बताएका छन् । ‘म अहिले ८३ वर्षको भएँ । आजभन्दा २१/२२ वर्षपहिला हामी दोधारा–चाँदनीवासीलाई नेपाली भएको अनुभूति हुँदैनथ्यो,’ पुनले भने, ‘जब महाकाली नदीमा झोलुङ्गे पुल निर्माण भयो र हामी जिल्ला सदरमुकामसँग जोडियौँ, त्यसपछि हामीलाई नेपाली भएको अनुभूति भयो ।’
दोधारा–चाँदनी नगरपालिकाकी उपप्रमुख गंगा जोशीका अनुसार पुल निर्माण हुनुअघि स्थानीयले सदरमुकाम आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्दा विभिन्न समस्या भोग्नुपर्थ्यो । झोलुङ्गे पुल बनेपछि पैदल यात्रु र दुईपाङ्ग्रे सवारीसाधनका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको उनले बताइन् । तर चारपाङ्ग्रे सवारीसाधनका लागि भने लामो समयसम्म भारतकै बाटो प्रयोग गर्नुपर्ने अवस्था कायमै रह्यो । यही बाध्यता अन्त्य गर्ने उद्देश्यले महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण अघि बढाइएको थियो ।
२०७० सालको संविधानसभा निर्वाचनपछि लेखक भौतिक पूर्वाधार विकास मन्त्री भएका बेला चार लेनको पक्की पुल निर्माणको प्रक्रिया अघि बढेको थियो । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुलको शिलान्यास गरेका थिए। अहिले उक्त पुल निर्माण सम्पन्न भई दोधारा–चाँदनीतर्फ चारपाङ्ग्रे सवारीसाधनको आवागमनसमेत सहज भएको छ ।
दोधारा–चाँदनी–६ का बुद्धिलाल श्रेष्ठले चार लेनको पुल बनेपछि एम्बुलेन्सदेखि दैनिक उपभोग्य तथा निर्माण सामग्री ओसारपसारसम्मका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको बताए । ‘झोलुङ्गे पुल निर्माण भएपछि पैदल र दुईपाङ्ग्रे सवारीसाधनमार्फत सदरमुकाम आउजाउ गर्न सजिलो भयो र मूलधारसँग जोडिँदा हामीलाई नेपाली भएको अनुभूति भयो,’ उनले भने, ‘अहिले चार लेनको पक्की पुल बनेपछि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता पनि हटेको छ ।’
झोलुङ्गे पुल भत्किएसँगै त्यसको ऐतिहासिक महत्वबारे पनि बहस सुरु भएको छ । लेखकले उक्त पुल नेपालमा लामो झोलुङ्गे पुल निर्माण प्रविधिको विकासक्रमसँग समेत जोडिएको बताएका छन् । उनका अनुसार महाकालीको उक्त पुल निर्माणपछि नेपालका अन्य स्थानमा पनि लामो झोलुङ्गे पुल निर्माण गर्ने प्रविधिको विकास र प्रयोग सुरु भएको थियो ।
त्यसैले पुल केवल दोधारा–चाँदनीको आवागमनको साधन नभई नेपालको झोलुङ्गे पुल विकासक्रमको एउटा महत्वपूर्ण इतिहाससमेत भएको उनको भनाइ छ । ‘यो पुलको निर्माणपछि देशका अन्य ठाउँमा पनि लामो झोलुङ्गे पुल बनाउने प्रविधि सुरु भयो,’ लेखकले भनेका छन्, ‘तसर्थ यो पुल नेपालको झोलुङ्गे पुलको विकासक्रममा सिंगो इतिहास पनि हो ।’
उनले पुलको संरक्षण गर्दै यथाशीघ्र पुनर्निर्माण तथा मर्मतसम्भार गर्न सरकारसँग आग्रह गरेका छन् ।‘यसको संरक्षण आवश्यक छ । म नेपाल सरकार र सरकारका सम्बन्धित सबै निकायलाई यथाशक्य चाँडो पुलको पुनर्निर्माण, मर्मत र सम्भार गर्न अनुरोध गर्दछु,’ लेखकले भनेका छन् ।
महाकालीमा झोलुङ्गे पुल भत्किए पनि अहिले दोधारा–चाँदनीलाई सदरमुकाम तथा देशका अन्य भूभागसँग जोड्ने चार लेनको पक्की पुल सञ्चालनमा रहेकाले चारपाङ्ग्रे सवारीसाधनको आवागमन भने प्रभावित भएको छैन ।
तर करिब दुई दशकअघि दोधारा–चाँदनीलाई मूलधारसँग जोड्ने पहिलो प्रत्यक्ष सम्पर्कका रूपमा स्थापित भएको झोलुङ्गे पुलको क्षतिले स्थानीयवासीमा भने पुरानो इतिहास र त्यससँग जोडिएका सम्झना फेरि ताजा गराएको छ ।
सम्बन्धित समाचार
समाजकांग्रेस सचिव भट्टले दशैँ खर्च कटाएर विपन्न विद्यार्थीलाई गरे शैक्षिक पोशाक सहयोग
१९ अक्टोबर २०२६
समाजबेलौरीमा खु*कुरी देखाएर कुटपिट गर्ने पाँच जना प्रहरी नियन्त्रणमा
१२ अक्टोबर २०२६
समाजकसैलाई समस्या परे सम्झिने नाम ‘भुन्टु’
१२ अक्टोबर २०२६
समाजमहाकाली नदीमा तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता
१० अक्टोबर २०२६