महेन्द्रनगर । नेपाली कांग्रेसको देउवा समूहअन्तर्गत भीमदत्त नगरपालिकाको नगर सभापतिमा राहुल भट्ट निर्विरोध चयन भएका छन् । नगर कार्यसमितिका उपसभापति, सचिव, सहसचिव र ५७ जना सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । नगर कार्यसमितिको उपसभापतिमा मञ्जु कुमारी फर्सवान कार्की र राजबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी, सचिवमा मदनराज मिश्र र चुडामणि अवस्थी तथा सहसचिवमा तारासिंह ऐर र मञ्जुदेवी धामी निर्विरोध चयन भएका छन् । नगर कार्यसमितिमा पाँच जना खुला सदस्यसहित ५७ जना सदस्य समेत निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शनिबार प्रमाणपत्र वितरण गरिएको छ ।
नगर सभापतिमा निर्विरोध चयन भएपछि भट्टले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने नेता, क्षेत्रिय प्रतिनिधि लगाएत सहभागी सबैप्रति आभार व्यक्त गरेका छन् । उनले सबैको साथ, सहयोग र विश्वासलाई आत्मसात् गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पार्टीभित्र एकता, सहकार्य र आपसी सद्भाव कायम गर्दै कांग्रेसलाई जनतासँग जोड्ने तथा संगठनलाई थप गतिशील बनाउने दिशामा आफूले काम गर्ने सभापती भट्टले बताए ।
उनले आफूलाई प्राप्त जिम्मेवारी व्यक्तिगत उपलब्धिभन्दा पनि समग्र पार्टी संगठनको जिम्मेवारी भएको उल्लेख गर्दै सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै देउवा समूहले विभिन्न तहमा अधिवेशन प्रक्रिया अघि बढाएको छ ।
यो हो टिम राहुल






