महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीको वडा भीमदत्त नगरपालिका–२ मा बिहीबार कांग्रेसको वडा अधिवेशन सुरु भएको छ । अधिवेशनमा युवा देखि वृद्ध उमेर समूहसम्मका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता देखिएको छ ।
वडा सभापति उत्तम भट्टको अध्यक्षता तथा जिल्ला सभापति पदम बोगटीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको हो ।
अधिवेशनस्थलमा नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा जिल्ला सभापति बोगटीले पार्टीभित्रको एकताका लागि अग्रज नेताहरुबाट निरन्तर प्रयास हुँदा हुँदै, विशेष महाधिवेशनको नेतृत्वले महाधिवेशनको मिति तोकेर एकलौटी ढंगले अघि बढेपछि १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व पनि अधिवेशन प्रक्रियामा जान बाध्य भएको उनले बताए ।
बोगटीले अहिले सुरु भएको अधिवेशन पार्टीलाई विभाजित गर्ने नभई एकता कायम गर्ने उद्देश्यले अघि बढाइएको बताए ।
‘पार्टी मिलाउन ठूलो प्रयास गर्यौँ अग्रज नेताहरुले गर्नुभयो । तर विशेष अधिवेशनको नेतृत्वले महाधिवेशनको मिति तोकेर एकलौटी तरिकाले अगाडि बढेपछि १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्व पनि आजबाट अधिवेशन गर्न बाध्य भएको हो ।’ उनले भने, ‘यो पार्टी एकताको अधिवेशन हो । अझै पनि एकता हुन सक्छ भन्ने विश्वासका साथ अधिवेशन अगाडि बढाइएको हो ।’
सभापति बोगटीले आगामी नेतृत्वमा युवाको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अग्रजको अनुभव र युवाको सक्रियतालाई समेटेर समिति गठन गर्न आग्रह गरे । ‘अग्रजको अनुभव र युवाको सक्रियताको समिश्रणबाट पार्टीको नेतृत्व निर्माण गर्नुपर्छ,’ उनले भने ।
वडा तहबाटै पार्टीलाई थप सक्रिय र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै उनले अधिवेशनलाई संगठन सुदृढीकरण र एकताको अवसरका रूपमा लिन पनि नेता–कार्यकर्तालाई आग्रह गरे ।
उद्घाटन सत्र सम्पन्न भई हाल बन्द सत्र सञ्चालन भइरहेको नेपाली कांग्रेस भीमदत्त नगरपालिका–२ वडा समितिका सचिव चुडामणि अवस्थीले जानकारी दिए । बन्द सत्रबाट वडा कार्यसमिति चयनलगायतका प्रक्रिया अघि बढाइने उनले बताए ।