महेन्द्रनगर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।
देउवाले बिहीबार अपिल जारी गर्दै नेपाली कांग्रेसको झण्डै आठ दशक लामो इतिहास बोकेको १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले गरेको त्याग, संघर्ष र बलिदानलाई थप मजबुत बनाउन महाधिवेशन महत्वपूर्ण रहेको उनको भनाइ छ ।
उनले देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गरेर सुरु हुन लागेको अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भई सफल बनाउन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । देउवाले पार्टीभित्र देखिएका मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै पार्टीलाई थप मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
‘साथै पार्टीभित्रको मतभेदलाई १५औँ महाधिवेशनमार्फत समाधान गरेर पार्टीलाई थप मजबुत बनाउने प्रण पनि गर्दछु,’ देउवाले अपिलमा भनेका छन् ।
देउवा पक्षले आजदेखि वडा अधिवेशन सुरु गर्दैछ। उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
देउवाले अपिलको अन्त्यमा ‘जय नेपाल’ भन्दै वडा अधिवेशनमा सक्रिय सहभागिताका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । देउवाले बुधबार सभापतिकै हैसियतमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तलाई पत्र पठाउँदै १५औँ महाधिवेशनसम्बन्धी जानकारी समेत गराएका छन् ।
पत्रमा ‘जानकारी तथा अभिलेखीकरण सम्बन्धमा’ उल्लेख गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि र पार्टी विधानको व्यवस्थाअनुसार १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णयबारे आयोगलाई जानकारी गराइएको देउवा समूहले जनाएको छ । पत्रमा पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट पुनरवलोकनका लागि अनुमति पाएको विषय पनि उल्लेख गरिएको छ । महाधिवेशनबाट निर्वाचित हुने नयाँ केन्द्रीय कार्यसमितिको नामावली महाधिवेशन सम्पन्न भएपछि अध्यावधिकका लागि पुनः निर्वाचन आयोगमा पठाइने जानकारीसमेत पत्रमा दिइएको छ ।
देउवा समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यक्रम छ । त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने तय गरिएको छ ।