महेन्द्रनगर । भीमदत्त नगरपालिका–२ वडा कार्यालयले महुलियास्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई खेलकुद सामग्री वितरण गर्नुका साथै विद्यालयमा तातो तथा चिसो पानी पिउने मेसिन(वाटर चिलर) जडान गरेको छ ।
विद्यार्थीको खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै अतिरिक्त क्रियाकलापमा प्रोत्साहन गर्ने तथा शिक्षक, शिक्षिका र विद्यार्थीलाई सहज रूपमा तातो तथा चिसो पानी उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयले उक्त सहयोग गरेको वडाध्यक्ष उत्तम भट्टले बताए ।
विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि आवश्यक पूर्वाधार तथा सुविधाको विस्तारमा वडा कार्यालयले प्राथमिकता दिएको समेत उनले बताए ।
वडाध्यक्ष भट्टले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश ओझालगायत विद्यालय परिवारलाई समाग्री हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा खेलकुद सामग्री तथा खानेपानीको सुविधा उपलब्ध भएपछि विद्यार्थीको सिकाइ वातावरण थप सहज र विद्यार्थीमैत्री बन्ने अपेक्षा गरिएको छ ।