महेन्द्रनगर । कृष्णपुर नगरपालिकाले ६ वटा सामुदायिक विद्यालयलाई विद्यालय बस उपलब्ध गराएको छ । विद्यार्थीको आवतजावत सहज बनाउँदै सामुदायिक विद्यालयप्रति आकर्षण बढाउने उद्देश्यले नगरपालिकाले बस हस्तान्तरण गरेको हो ।
बुधबार आयोजित कार्यक्रममा नगर प्रमुख हेमराज ओझा र उपप्रमुख द्रौपती रानाले सम्बन्धित विद्यालयका प्रतिनिधिलाई बस हस्तान्तरण गरे ।
बस प्राप्त गर्ने विद्यालयमा वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालय, वडा नम्बर ३ को नन्द माध्यमिक विद्यालय, वडा नम्बर २ को उदय माध्यमिक विद्यालय, वडा नम्बर १ को राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ४ को कृष्ण माध्यमिक विद्यालय र वडा नम्बर ८ को वीणा माध्यमिक विद्यालय छन् ।
नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिगोटा ४५ लाख ४५ हजार रुपैयाँका दरले बस खरिद गरेको हो । ५० सिट क्षमताका बस टाटा कम्पनीका २०२६ मोडलका हुन्। बसमा बीएस–६ प्रविधियुक्त ३२ सय सीसीको इन्जिन रहेको नगर प्रमुख ओझाले बताए ।
बस सञ्चालन गर्न सक्ने विद्यालयबाट प्रस्ताव माग गरी आवश्यकताको आधारमा ६ विद्यालय छनोट गरिएको नगरपालिकाले जनाएको छ । विद्यालयले बस सञ्चालनका लागि चालक, इन्धनलगायत खर्च आफैँ व्यहोर्नुपर्नेछ ।
नगर प्रमुख ओझाले सामुदायिक विद्यालयलाई आफ्नै लगानीमा बस उपलब्ध गराउने कामलाई नमुनाका रूपमा अघि बढाइएको बताए । उनका अनुसार विद्यार्थीलाई विद्यालय आउन–जान सहज बनाउनुका साथै सामुदायिक विद्यालयलाई निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ ।
‘बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्न र विद्यार्थीलाई विद्यालय आउजाउमा सहज बनाउन बस उपलब्ध गराएका हौँ,’ ओझाले भने ।
महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरनसिंह बोगटीले बस प्राप्त भएपछि विद्यार्थीको आवतजावत व्यवस्थापनमा सहज हुने बताए । उनका अनुसार विद्यालयलाई बस उपलब्ध गराउँदा यातायात व्यवस्थापनमा ठूलो सहयोग पुगेको छ ।